सामुदायिक साकोसमा करोडौंको अपचलन! -दोषीलाई कानुनी कारबाही हुन्छ-सीईओ बस्नेत! -अस्ट्रेलियाबाट कोषाध्यक्षका छोराले दिए चेतावनी!
पनौती- पछिल्लो समय देशभर सहकारी संस्था बदनाम बन्दै गइरहेका बेला काभ्रेपलाञ्चोक जिल्लामा समेत रकम अपचलनको घटना पुष्टि भएको छ। केही समयदेखि सामाजिक सञ्जाल र स्थानीय अभियन्ताहरूले सहकारीमा अनियमितता भएको भन्दै प्रश्न उठाइरहे पनि सहकारी सञ्चालकहरूले ती आरोपलाई निराधार भन्दै खण्डन गर्दै आएका थिए।तर हालै सामुदायिक साकोसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मदन बस्नेतले सार्वजनिक रूपमा रकम अपचलनको विषय स्वीकार गर्दै दोषीमाथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। एक अन्तर्वार्तामा बोल्दै बस्नेतले भने, “स्टाफबाट अलिअलि बदमासी भएको छ। लगभग ३ करोड चानचुनको कुरो छ। सबैभन्दा पहिलो चरण असुलीमा लागेका छौं। अपचलन गरेका तीनजनामध्ये दुईजना बाट असुली भइसकेको छ। एउटाको पनि पार्सल्ली असुलि भएको छ, जसले सबैभन्दा बढी गरेको बाट। लगभग ६० देखि ७०% पैसा हामीले रिकभर गरिसकेका छौं।”
उनका अनुसार अपचलनमा संलग्न भनिएका कर्मचारीहरू हाल निलम्बनमा रहेका छन्। बस्नेत भन्छन्, “उहाँहरूको परिवार सबैलाई ल्याएर कमिटमेन्ट गराएर, परिवारको रोबरमा संस्थाले चाहेको समय उपस्थित गराउने सहमतिमा छोडिएको छ।” साथै, संस्थाले सचिवको संयोजकत्वमा छानबिन समिति गठन गरी थप अनुसन्धान गरिरहेको पनि उनले जानकारी दिए।
“Internal रूपमा स्टाफले नै बदमाशी गर्छ भने त, जसले बदमाशी गर्छ त्यसले सजाय त पाउँछ बदमाशी गरी बराबरको, त्यो त राज्यको कानुन बमोजिम सजाय होला, संस्थाको नीति अनुसार कारबाही होला,” बस्नेतले भने। संस्थाले अपचलन गर्ने कर्मचारीबाट बिगो र जरिवानासहितको रकम असुल गर्ने र कानुनी प्रक्रियामा लैजाने स्पष्ट संकेत दिएका छन्।
सीईओ बस्नेतले शेयर सदस्यहरूको रकम सुरक्षित रहेको र भविष्यमा यस्ता गतिविधि हुन नदिन थप सुरक्षा नीतिहरू लागू गरिने बताएका छन्। “शेयर सदस्यको रकम सुरक्षित छ र सुरक्षित हुन्छ,” उनले जोड दिए।सहकारीको रकम अपचलन गरिएको तथ्य सीईओ बस्नेतले सार्वजनिक गरेको २४ घण्टा नबित्दै, सहकारीले जेठ ३ गते प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।”विगत ३१ वर्षदेखि समुदायमा निरन्तर वित्तीय सेवा प्रदान गर्दै आएको पनौती–४ स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कार्यरत तीन जना कर्मचारीद्वारा संस्थाको रकम हिनामिना भएको खुलासा भएको छ। संस्थाले एक विज्ञप्ति जारी गर्दै आन्तरिक छानविनको क्रममा ती कर्मचारीहरूले संस्थाको नीति, नियम तथा कानून विपरीत अपचलन गरेको पुष्टी गरेको जनाएको छ।
विज्ञप्तिअनुसार, एक कर्मचारीले आफ्ना आफन्त तथा नातेदार सदस्यहरुलाई ऋण बनाई त्यो रकम आफूले प्रयोग गरेका थिए, जसको साँवा र ब्याजसहितको सम्पूर्ण रकम असुल भइसकेको छ। अर्का एक कर्मचारीबाट अपचलन भएको रकम समेत पूर्णरूपमा असुल गरिएको छ भने तेस्रो कर्मचारीको हकमा अधिकांश रकम असुल भइसकेको र बाँकी रकम असुलका लागि निजको एकाघरको घरजग्गा रोक्का राखिएको स्पष्ट गरिएको छ।संस्थाले विगतमा बाह्य व्यक्तिबाट भएको चोरीसमेत १२ दिनमै उजागर गरी कानुनी प्रक्रियामा ल्याएको स्मरण गराउँदै, आन्तरिक अपचलनसमेत व्यवस्थापनको सूक्ष्म निगरानीबाट पत्ता लागेको उल्लेख गरेको छ। यस प्रकरणमा सञ्चालक समिति वा व्यवस्थापनको कुनै राजनीतिक संरक्षण वा संलग्नता नरहेको संस्था पक्षबाट प्रष्ट पारिएको छ।
संस्थाका अध्यक्ष मुकुन्द शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख अनुसार, दोषी कर्मचारीहरू हाल निलम्बनमा छन् र उनीहरू विरुद्ध सहकारी ऐन, विनियमावली तथा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ। साथै, सदस्यहरूको बचत, सम्पत्ति तथा दायित्वप्रति उच्च व्यवस्थापन र सञ्चालक समिति पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाइएको छ।
संस्थाले प्रविधिमैत्री व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै प्रविधिबाट हुन सक्ने जोखिमप्रति सतर्क रहँदै सदस्यहरूको बचतको ग्यारेन्टीका लागि आवश्यकता परेमा सञ्चालक र व्यवस्थापकको स्थिर सम्पत्ति समेत संस्थाको नाममा रोक्का राख्न तयार रहेको घोषणा गरेको छ।
संस्थाभित्रै गठन गरिएको छानविन समितिले प्रारम्भिक प्रतिवेदन दिने तयारीमा रहेको र सो प्रकरणको निष्पक्ष छानविनका लागि प्रदेशस्तरीय छाता संघमार्फत विज्ञको सहयोग लिई प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको छ।संस्थाले सम्पूर्ण शेयर सदस्य तथा सरोकारवाला महानुभावहरूलाई विचलित नहुन आग्रह गर्दै सदस्यहरूको बचत सुरक्षित रहेको र संस्थाप्रति विश्वास कायम राख्न अनुरोध गरेको छ।यसरी अपचलन प्रकरण सार्वजनिक भएसँगै, सेयर सदस्य डाइमण्ड थापाले आफ्नो सामाजिक सञ्जालमार्फत व्यक्त गरेका विचारहरूले संस्थाभित्र र बाहिर थप चासो र बहसको वातावरण सिर्जना गरेको छ।वि.सं. २०५१ देखि सहकारी आन्दोलनमा सक्रिय रहँदै आएका थापा लेख्छन्— “समुदायिक बचत तथा ऋण सहकारी संस्था लि. आजको दिनमा पनि सशक्त संस्थागत संरचना, वित्तीय अनुशासन र उत्तरदायित्वपूर्ण नेतृत्वका माध्यमबाट अग्रपंक्तिमा उभिएको छ।”
उनले हालै संस्थाभित्र देखिएका केही आन्तरिक व्यतिक्रमहरूलाई लिएर तथ्य र प्रक्रियासँग मेल नखाने, नियोजित रूपमा फैलाइएका भ्रमहरूप्रति संकेत गर्दै लेखेका छन्— “संस्थाको आन्तरिक नियमनविपरीत कार्यसञ्चालनमा संलग्न तीन कर्मचारी निलम्बित भइसकेका छन् र प्रारम्भिक छानबिनले अपचलनमा संचालक समिति वा प्रमुख कार्यकारीको संलग्नता नदेखाएको छ।”थापाले संस्थाले नियमित लेखापरीक्षण, बाह्य निगरानी तथा नियामक निकायहरूको निरन्तर अनुगमनका आधारमा आफ्नो निष्कर्ष प्रस्तुत गरेका छन्। “यदि विगतमा कुनै गम्भीर अनियमितता भएको भए लेखापरीक्षण रिपोर्टमै त्यसको संकेत देखिनु पर्ने थियो,” भन्ने तर्क पनि उनले दिएका छन्।
तर, अपचलनमा संलग्न रहेको ठहर भएका कर्मचारीहरूसँग रकम असुलउपर प्रक्रिया प्रारम्भ भएको भन्दै प्रेस विज्ञप्ति सार्वजनिक गरिसकेका संस्थाका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समिति अध्यक्षको भनाइसँग थापाको पोस्ट प्रत्यक्ष रूपमा मेल खाँदैन।
यस्तो समयमा सहकारीप्रति दृढ समर्थनका साथ सार्वजनिक भएको पोस्टले संस्था भित्र र बाहिर विविध खाले प्रतिक्रिया उत्पन्न गराएको छ। कतिपय सेयर सदस्य, सञ्चालक समिति सदस्य, कर्मचारी र सहकारी अभियन्ताहरू थापाको भनाइप्रति चकित भएका छन्। विशेष गरी अपचलन स्वीकार गरिसकेका कर्मचारीहरूप्रति स्पष्ट आलोचना नभएको र संस्थाभित्रको दोषमाथि प्रत्यक्ष टिप्पणी नगरी संस्थाको रक्षामा केन्द्रित देखिएको थापाको भनाइलाई कतिपयले प्रश्नको रूपमा समेत हेरेका छन्।यद्यपि थापाले सहकारी आन्दोलनलाई सामूहिक निष्ठा र विश्वासको स्तम्भका रूपमा व्याख्या गर्दै संस्थाको ऐतिहासिक भूमिका, आर्थिक अनुशासन र उत्तरदायित्वपूर्ण नेतृत्वप्रति आस्था व्यक्त गरेका छन्। “संस्थाको मजबूती सबै सदस्यहरूको साझा उत्तरदायित्व हो,” भनी उनले लेखेका छन्।थापाको उक्त पोस्ट अपचलन प्रकरणको संवेदनशील मोडमा सार्वजनिक भएकोले गर्दा यसले न केवल सामाजिक सञ्जालमा बहस बढाएको छ, तर संस्था भित्रै पनि आन्तरिक संवादलाई नयाँ मोड दिएको देखिन्छ।
३०औँ वार्षिक साधारण सभाबाट सर्वसम्मतरूपमा कोषाध्यक्षमा निर्वाचित भएका कृष्ण थापाका जेष्ठ पुत्र डाइमण्ड थापाले सामुदायिक सहकारीको विषयमा व्यक्तिगत चेतावनीमूलक अभिव्यक्ति दिएका छन्। उहाँले स्पष्ट रूपमा भन्नुभयो, “यदि कुरा व्यक्तिगत तहमा आउँछ भने, यो नबिर्सनुहोस्—अस्ट्रेलियाबाट नेपाल पुग्न एक दिन मात्र लाग्छ।”उक्त अभिव्यक्तिले सहकारीको आलोचना गर्ने तथा त्यसबारे समाचार प्रकाशन गर्ने पत्रकार तथा सामाजिक अभियन्ताहरूलाई लक्षित गरेको आशंका गरिएको छ।स्थानीय बासिन्दा राजु सापकोटाको भनाइमा, “सहकारी जस्तो सामुदायिक संस्था पारदर्शिता र जवाफदेहिताको आधारमा चल्नुपर्छ। यदि कसैले आलोचना गर्छ भने त्यसको जवाफ प्रमाणसहित दिनुपर्छ, डर देखाएर होइन।”अर्का बौद्धिक विश्लेषक डा. रमेश खनाल भन्छन्, “अन्तर्राष्ट्रिय भूमि भएको व्यक्ति वा उसको हैसियत देखाएर चेतावनी दिने प्रवृत्ति लोकतान्त्रिक मूल्यविपरीत हो। अभिव्यक्ति स्वतन्त्रता कुनै पनि समाजको आधारभूत अधिकार हो।”स्थानिय पत्रकार महासंघका सदस्य मीरा लामाको भनाइमा, “यस्ता अभिव्यक्तिले पत्रकारितामाथि आक्रमण गर्न खोजिएको देखिन्छ। पत्रकारहरूले सूचना सम्प्रेषणको अधिकार प्रयोग गरेका हुन्, न त व्यक्तिगत आक्षेप।”
सामुदायिक सहकारीमा देखिएको आन्तरिक विवाद र त्यसमा आउने प्रतिक्रियाले अझ पारदर्शिता र जवाफदेहिताको आवश्यकता औँल्याएको छ। डाइमण्ड थापाको चेतावनीमूलक भाषा अहिले सामाजिक सञ्जालदेखि बुद्धिजीवी वर्गसम्ममा बहसको विषय बनेको छ।यस्तो अवस्थामा, सबै सरोकारवालाहरूले संयमता, तथ्य र पारदर्शिताको बाटो अँगाल्नु उपयुक्त हुनेछ, ताकि सहकारी संस्थाको मूल उद्देश्य—सामूहिक समृद्धि—कुनै विवादको छायाँमा नपरोस्।सहकारी कोष अपचलन प्रकरणमा ‘तपाईं हाम्रो साप्ताहिक’द्वारा सम्पर्क गरिएका आरोपितमध्ये दुई जनाले आंशिक रूपमा आरोप स्वीकारेका छन्। यस्तै, सबैभन्दा ठूलो रकम अपचलन गरेको आरोप लागेका एकजना भने यसबारे मौन बसेका छन्।”
latest video
news via inbox
Nulla turp dis cursus. Integer liberos euismod pretium faucibua