निःशुल्क आँखा शिविर सम्पन्न

जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजना तथा श्री पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. को सह–आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न
काभ्रे, कार्तिक १४। जिल्लाका नागरिकलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानअन्तर्गत जिल्ला सहकारी संघ लि. काभ्रेले मण्डनदेउपुर नगरपालिका–९, लाकुरेधारामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ। शिविरमा १५० भन्दा बढी नागरिकको आँखा परीक्षण गरी आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको छ।
२०८३ कार्तिक १४ गते शनिबार श्री पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. को वार्षिक साधारण सभाको अवसरमा आयोजित शिविरमा रेयुकाई मासुनागा आँखा अस्पताल, बनेपाको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो। स्थानीय नागरिकलाई टाढा जानुपर्ने बाध्यता कम गर्दै गाउँमै आँखा परीक्षणको अवसर प्रदान गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो।
शिविरमा आँखाको दृष्टि परीक्षण, आँखासम्बन्धी समस्याको पहिचान तथा आवश्यक परामर्श सेवा उपलब्ध गराइएको थियो। परीक्षणका क्रममा मोतिबिन्दु पहिचान भएका बिरामीहरूको उपचारका लागि समेत विशेष व्यवस्था गरिएको छ। जिल्ला सहकारी संघ लि. काभ्रे र रेयुकाई मासुनागा आँखा अस्पतालबीच भएको सम्झौताअनुसार त्यस्ता बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिनेछ।
जिल्ला सहकारी संघ लि. काभ्रेका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले सहकारी संघले संस्थागत विकासका गतिविधिसँगै समुदायको आवश्यकता र हितलाई लक्षित गरी सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले सदस्य सहकारी संस्थाहरूसँगको सहकार्यबाट स्वास्थ्य सेवा, सामाजिक सचेतना र सामुदायिक विकासका क्षेत्रमा सकारात्मक योगदान पुर्याउन सकिने उल्लेख गर्नुभयो।
उहाँले आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर समयमै परीक्षण गराउनु आवश्यक रहेको बताउँदै शिविरबाट स्थानीय नागरिकले आफ्नै क्षेत्रमा सेवा प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि भएको धारणा व्यक्त गर्नुभयो। साथै, कार्यक्रमको सह–आयोजना गर्ने पञ्चकन्या सहकारी संस्था र प्राविधिक सहयोग उपलब्ध गराउने रेयुकाई मासुनागा आँखा अस्पताललाई धन्यवाद दिनुभयो।
सहकारी अभियानलाई समुदायको सामाजिक तथा मानवीय आवश्यकतासँग जोड्ने उद्देश्यले सञ्चालित यस कार्यक्रमले सहकारी संस्थाहरूको सामाजिक भूमिकालाई थप प्रभावकारी बनाएको छ। जिल्ला सहकारी संघ लि. काभ्रेले आगामी दिनमा पनि सदस्य संस्थाहरूसँगको सहकार्यमा नागरिकको हितमा केन्द्रित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

