सोमबार, मंसिर ७, २०८३
चर्चामा दशैं २०८३

पनौती-४ टौखाल पार्कको भुइँबाट स्वास्थ्य क्रान्तिको बहस!

नेपाल सूक्ष्मपोषक तत्व सर्वेक्षण–२०२६

Buddha Shrestha   आइतबार, मंसिर ६, २०८३
पनौती-४ टौखाल पार्कको भुइँबाट  स्वास्थ्य क्रान्तिको बहस!

पनौती (काभ्रेपलाञ्चोक)

राष्ट्रिय स्वास्थ्य नीति निर्माणमा कोसेढुङ्गा मानिएको ‘नेपाल सूक्ष्मपोषक तत्व सर्वेक्षण – २०२६’ (NMS 2026) को सफल कार्यान्वयनका लागि पनौती नगरपालिका वडा नं. ४ मा विशेष क्लस्टर स्तरीय अभिमुखीकरण तथा समन्वय अन्तरक्रिया सम्पन्न भएको छ। गत शनिवार ५ गते पनौती-४ स्थित टौखाल पार्कको खुला चौर (भुइँ) मा बसेर आयोजित उक्त अनौपचारिक तर अत्यन्तै प्रभावकारी कार्यक्रम वडा अध्यक्ष दिपकप्रसाद दाहाल को सक्रिय पहलमा सम्पन्न भएको हो।

नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय बालकोष (UNICEF) र संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयको सहकार्यमा अनुसन्धानात्मक संस्था न्यु एरा (New ERA) द्वारा देशभर सञ्चालन भइरहेको यस राष्ट्रिय सर्वेक्षणलाई स्थानीय स्तरमा पारदर्शी, विश्वसनीय र जनसहभागितामूलक बनाउन वडा तहबाटै यस्तो सिर्जनात्मक संवाद थालिएको हो।

सन् २०१६ मा दोस्रो राष्ट्रिय सर्वेक्षण (NNMSS) सम्पन्न भएको ठिक एक दशकपछि नेपालमा पुनः बृहत् रूपमा सूक्ष्मपोषक तत्वको अवस्था मूल्याङ्कन गर्न लागिएको हो। विगत दस वर्षमा नेपालीहरूको खानपान, जीवनशैली, सामाजिक-आर्थिक अवस्था र जनस्वास्थ्यमा आएको परिवर्तनले पोषणको स्थितिमा कस्तो असर पारेको छ भन्ने अद्यावधिक तथ्य पत्ता लगाउन यो सर्वेक्षण अनिवार्य देखिएको छ।सर्वेक्षणअन्तर्गत देशभरका २८० क्लस्टरका ८,४०० घरधुरीबाट तथ्याङ्क सङ्कलन गरिँदैछ। यसमा विशेषगरी ६ देखि ५९ महिनाका बालबालिका, ६ देखि ९ वर्षका बालबालिका, १० देखि १९ वर्षका किशोरकिशोरी, प्रजनन उमेर (१५–४९ वर्ष) का महिला तथा गर्भवती महिलाहरूलाई लक्षित समूहका रूपमा समेटिएको छ। सहभागीहरूको भिटामिन 'ए', भिटामिन B12, आइरन, फोलेट, आयोडिन, जिंक, रक्तअल्पता (Anemia) र शरीरमा हुने सूजन (Inflammation) को वैज्ञानिक परीक्षण गरिनेछ।

यो सर्वेक्षण केवल कागजी तथ्याङ्क सङ्कलनमा मात्र सीमित छैन, यसले आम नेपाली नागरिक र समुदायलाई प्रत्यक्ष तथा दीर्घकालीन रूपमा ठूलो लाभ पुर्‍याउनेछ।  तत्काल स्वास्थ्य जानकारी र परामर्श: सर्वेक्षणमा सहभागी हुने घरपरिवारका सदस्यहरूले आफ्नो उचाइ, तौल, पाखुराको नाप (MUAC), रक्तअल्पताको अवस्था र भान्सामा प्रयोग हुने नुनमा आयोडिनको मात्राबारे तत्काल निःशुल्क जानकारी पाउनेछन्। यदि कसैमा गम्भीर कुपोषण वा रक्तअल्पता देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा प्रेषण (Referral) र उचित परामर्शको व्यवस्था समेत मिलाइएको छ।  दीर्घकालीन स्वास्थ्य नीति निर्माण: सर्वेक्षणबाट प्राप्त प्रमाणका आधारमा सरकारले आगामी दिनमा आइरन चक्की वितरण, भिटामिन 'ए' कार्यक्रम, आयोडिनयुक्त नुनको प्रवर्द्धन तथा मातृ-शिशु पोषण सुधारका लागि लक्षित बजेट र प्रभावकारी नीति निर्माण गर्नेछ। यसले भविष्यमा नेपाली बालबालिका र आमाहरूलाई कुपोषणजन्य रोगबाट जोगाउन मद्दत गर्नेछ।

कुनै पनि राष्ट्रिय अभियानका सबल पक्षसँगै केही व्यावहारिक चुनौतीहरू पनि जोडिएका हुन्छन्। टौखाल पार्कको अन्तरक्रियामा यस सर्वेक्षणका दुवै पक्षबारे गम्भीर समीक्षा गरिएको छ।राम्रो (सबल) पक्ष: सर्वेक्षणको सबैभन्दा बलियो पक्ष यसको वैज्ञानिक विश्वसनीयता र निष्पक्षता हो। आधुनिक प्रविधि (CAPI) र गोलाप्रथा प्रणालीमार्फत घरधुरी तथा सहभागी छनोट गरिने भएकाले फिल्ड टोलीले आफूखुसी व्यक्ति थपघट गर्न पाउँदैनन्। साथै, विश्व स्वास्थ्य संगठन (WHO) को सन् २०२४ को मापदण्डअनुसार नसा (Venous) र औँला (Capillary) दुवैबाट रगतको नमुना परीक्षण गरिने हुँदा रक्तअल्पतासम्बन्धी विगतका भ्रमहरू समेत निवारण हुनेछन्।

चुनौतीपूर्ण (नराम्रो) पक्ष: व्यावहारिक पक्षबाट हेर्दा समुदायमा रगत तथा दिसा/पिसाबको नमुना सङ्कलन गर्दा कतिपय नागरिकमा डर वा "रगत झिक्दा कमजोरी हुन्छ" भन्ने जस्ता भ्रम देखिन सक्ने चुनौती छ। त्यसैगरी, यो विशुद्ध अनुसन्धानात्मक सर्वेक्षण भएकाले स्वास्थ्य शिविरजस्तो तत्काल औषधि वितरण नहुँदा कतिपय सर्वसाधारणले अपेक्षा गरेअनुसारको उपचार नपाएको महसुस गर्न सक्छन्। साथै, सीमित नमुना आकारका कारण देशभरको औसत अवस्था देखिए पनि प्रत्येक स्थानीय तह वा वडाको छुट्टाछुट्टै सूक्ष्म तथ्याङ्क यसबाट प्राप्त नहुनु यसको प्राविधिक सीमा हो। अन्तरक्रिया कार्यक्रममा बोल्दै वडा अध्यक्ष दिपक प्रसाद दाहालले जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा वडाबासीहरू सचेत हुनुपर्नेमा जोड दिनुभयो। पार्कको खुला भुइँमा बसेर स्थानीय अगुवा, महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवालाहरूसँग गरिएको संवादले सर्वेक्षणप्रतिको अपनत्व बढाएको छ।

बाहिरी टोली गाउँमा आउँदा फैलिन सक्ने सम्भावित अफवाह र गलत सूचनालाई चिर्न स्थानीय जनप्रतिनिधि र स्वयंसेविकाको भूमिका निर्णायक हुन्छ। राष्ट्रको भविष्य र भावी पुस्ताको स्वास्थ्यसँग जोडिएको यस महत्वपूर्ण अभियानमा गोलाप्रथाबाट छनोटमा परेका घरधुरीहरूले कुनै संकोच नमानी स्वेच्छिक सहभागिता जनाई सर्वेक्षणलाई सफल पार्नु आजको आवश्यकता हो।यति ठुलो र प्रभावकारी कार्यक्रममा सहभागी जनसमुदायलाइ मंसिरको चिसो भुइमा बसाएर प्रयाप्त खाजा ब्यवस्थापनमा कमजोरी र अन्तरक्रिया स्थल समेत अस्वाभाविक तरिकाले कार्यक्रमलाइ टालटुल गरी मेलो पकाउने मात्र जस्तो देखियो भन्ने गुनासो सुनियो।

विज्ञापन तपाईं हाम्रो यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: info@tapaihamro.com.np सम्पर्क गर्नुहोस्