आइतबार, असोज २५, २०८३

पाँचखालमा बृहत् स्वास्थ्य शिविर : मुटु र मधुमेह रोगका बिरामीलाई प्रत्यक्ष लाभ

Buddha Kumar Shrestha   बुधबार, फागुन २८, २०८१

काभ्रेपलान्चोक, फागुन २७

‘स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प’ भन्ने मूल मन्त्रका साथ स्थापित ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको औषधी सौजन्यमा लायन्स इन्टरनेसनल ३२५ के अन्तर्गत लायन्स क्लब अफ काठमाडौं ड्रिमसिटी, इन्टरनेसनल काभ्रेपलान्चोक सेवा समाज तथा काभ्रेली सेवा समाज बेल्जियमको संयुक्त आयोजनामा पाँचखाल नगरपालिका-१३, कोशीदेखा, काभ्रेपलान्चोकमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सतिशकुमार शाह तथा वीर अस्पतालका जनरल फिजिसियन डा. सरोजकुमार शाहको प्रत्यक्ष चिकित्सकीय सेवामा सञ्चालन भएको यस शिविरबाट करिब ४ सय काभ्रेली जनता लाभान्वित भएका छन्। इन्टरनेसनल काभ्रेपलान्चोक सेवा समाजका अध्यक्ष दिनेश उप्रेतीका अनुसार ओम मेगाश्री फर्मास्युटिकल्सको चार लाख रुपैयाँ बराबरको औषधी सहयोगमा सञ्चालन गरिएको यस शिविरले विशेष गरी मुटु रोग, मधुमेह तथा रक्तचापका बिरामीहरूलाई लक्षित गरेको थियो।

गाउँघरका वृद्धवृद्धा र अशक्तहरूलाई प्रत्यक्ष राहत दिने उद्देश्यले गरिएको शिविरबारे लायन्स क्लब अफ काठमाडौं ड्रिमसिटीका अध्यक्ष राजिन पनेरूले जानकारी दिँदै यस किसिमका स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबै पक्ष लाग्नुपर्ने बताए। वडा नं. १३ का वडाध्यक्ष सुकवीर तामाङले सरकारले गर्न नसकेको कामलाई सामाजिक संस्थाहरूले पूरा गर्दै सर्वसाधारणलाई लाभ पुर्‍याएको बताए।

स्वास्थ्य परीक्षणपछि धेरै बिरामीले आफूमा रक्तचापको समस्या रहेको थाहा नपाएको र शिविरले ठूलो राहत दिएको प्रतिक्रिया दिएका थिए। जोन पर्सन लायन गोपालप्रसाद सापकोटाका अनुसार शिविरले सहरी पहुँचभन्दा टाढा रहेका आर्थिक रूपमा विपन्न समुदायलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराएको छ।

कार्यक्रममा पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल, इन्टरनेसनल काभ्रेपलान्चोक सेवा समाजका उपाध्यक्ष जेनकुमार वाइबा, कोषाध्यक्ष यमप्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक लायन टिकाराम भट्ट, लायन्सका पदाधिकारी दीपक पनेरू, दीपेन्द्र बास्तोला, ओम मेगाश्री फर्मास्युटिकल्सका प्रक्योरमेन्ट डाइरेक्टर प्रगति पौडेल, काभ्रे समाज सेवा नेपालका अध्यक्ष प्रह्लाद के.सी., पूर्व सचिव रामशरण रेग्मी, पाँचखाल चेम्बर अफ कमर्सका कार्यकारी अधिकृत नवीनप्रकाश निरौला, श्री राम मा.वि.का प्रधानाध्यापक नवराज न्यौपाने, समाजसेवी राजेन्द्र लुइटेल, केशव शिवाकोटी, स्वास्थ्यकर्मी संयोजक विष्णु गौतमलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

विज्ञापन तपाईं हाम्रो यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: info@tapaihamro.com.np सम्पर्क गर्नुहोस्