भोट हालिस, अब मुद्दा झेल्!
-रास्वपा सांसदको तेवर

जनताको विश्वास र ऐतिहासिक जनमतबाट ‘पुराना दलभन्दा फरक’ हुने र जनताका सेवक बन्ने वाचासहित सिंहदरबार छिरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनप्रतिनिधिहरू नै महाराजा झैँ ब्यावहार र गुटबन्दीमा लिप्त हुन थालेपछि आम मतदातामा गहिरो निराशा छाएको छ। चुनावका बेला ‘घरदैलोमा सेवा गर्छौं’ भन्दै हात जोडेर मत मागेका तिनै जनप्रतिनिधिहरू सत्ताको कुर्सी र पदमा पुग्नेबित्तिकै बदलिएको उग्र तेवरले जनतालाई पिरोलेको छ।
रास्वपा स्थापनाकालदेखि नै रगत पसिना बगाएर साथ, समर्थन र वकालत गरेका इमानदार कार्यकर्ताहरूसमेत यतिबेला आफ्ना निर्वाचित सांसदबाट चिनिन छाडेका छन्। जनताका गुनासा सुन्नु त परको कुरा, फोनको रिसिभसमेत नगर्ने र उल्टै जनताबाट वहाना गरि पन्छिने प्रवृत्ति बढेको गम्भीर गुनासोहरू बाहिरिन थालेका छन्।चुनावको बेला जनताका ज्याला र पसिनाको सम्मान गर्ने बाचा गरेका नेताहरू आज जनताको पसिना र आशुमाथि रजाइँ गरिरहेका छन्। हालै प्राप्त गुनासा अनुसार, पार्टीका पक्षमा रु. १००० रुपैयाँ शुल्क तिरेर विधिवत् रूपमा सदस्यता लिएका निष्ठावान् कार्यकर्ताहरूले समेत आफ्ना जनप्रतिनिधिबाट अपमान सहनुपरेको छ।
दिनदहाडै घरमा हमला हुने, खुँडा प्रहारजस्ता जघन्य अपराध हुँदा र जनता अन्यायमा पर्दा समेत रास्वपाका सांसदहरू मुखमा पानी हालेर मौन बस्ने गरेको जनगुनासो चुलिएको छ। झूटो मुद्दाको जालो, मिटरब्याजको शोषण र दिनदहाडै भइरहेका भ्रष्टाचारका विषयमा गुनासो सुन्ने क्षमतासमेत यी जनप्रतिनिधिमा देखिएको छैन। गुनासो गर्न जाँदा “अपराध गरिस, मुद्दा लाग्यो अनि सम्झिस, नत्र त यो पार्टीको होइन” भन्दै सांसदहरूले नै उल्टै झाको झार्ने गरेको पीडितहरूको दुखेसो छ।पार्टीभित्र देखिएको यो स्वेच्छाचारिता र अवसरवादले रास्वपाको वैचारिक आधारलाई नै गिज्याइरहेको छ।
हिजोका दिनमा पुराना दलको आडमा रास्वपाका विरुद्धमा खरो रूपमा लेख्ने र विरोध गर्नेहरू नै आज एकाएक रास्वपाभित्र अवसरको चाङमा बसेको र रास्वपाको पक्षमा इमानदारीपूर्वक लेख्ने तथा वकालत गर्नेहरू विज्ञापनबाट वञ्चित तथा पद–प्रतिष्ठाबाट बर्खास्त हुनुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना भएको छ।काभ्रे जिल्ला सभापतिलगायत पार्टीका जिम्मेवार पदाधिकारी र निर्वाचित माननीयहरू पुराना दलका नेताहरूभन्दा पनि कडा शैलीमा गुटबन्धी गर्दै अवसरवादीहरूको झुण्डलाई काखी च्याप्न व्यस्त रहेको गम्भीर आरोप लागेको छ।
रास्वपाका यी र यस्तै जनविरोधी गतिविधि र महाराजा शैलीका कारण स्थापनाकालदेखि पार्टीलाई जोगाएर राख्ने हजारौँ निष्ठावान् कार्यकर्ताहरू निराश बनेका छन्। पार्टीभित्रैबाट उठेका यी गम्भीर प्रश्न र सत्यताको छानबिन गरी नेतृत्वले समयमै आत्मसमीक्षा नगरेमा आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा रास्वपाले भोग्ने परिणामले पार्टीलाई खरानी बनाउन सक्नेछ। जनताको ढोकाढोकामा पुगेर भोट माग्नेहरूले समयमै आफ्नो अहङ्कार र तेवर नबदले भविष्यमा जनताले दिने मतको रापले झस्किनु कुनै नौलो कुरा हुनेछैन। जनताको मतलाई कमजोरी नठानेर रास्वपा नेतृत्वले तत्काल जिल्लास्तर र जनप्रतिनिधिहरूमा देखिएको यो घमण्ड, अवसरवाद र गुटबन्धीलाई नरोके राजनीतिक पतन निश्चित छ। समयमै सच्चिनु नै पार्टीको दीर्घकालीन हित हुनेछ।

