सहकारी क्षेत्रमा महाभूकम्प! पाञ्चाल सहकारीको वित्तीय रिपोर्टले सबैलाई बनायो अवाक!

पनौती-
श्री पाञ्चाल बहुउद्देश्यीय सहकारी संस्था लि. पनौती-७ को दोस्रो वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रोशन कुमार श्रेष्ठको अध्यक्षतामा १८ गते आइतवार भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका ७५ प्रतिशतभन्दा बढी सेयर सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो। साधारण सभाको अवसरमा संस्थाको सेयर सदस्य वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउनुहुने उत्कृष्ट सदस्यहरूलाई सम्मान गरिएको थियो।कार्यक्रमको अन्त्यमा सञ्चालन गरिएको ‘लक्की ड्र’ (चिठ्ठा) प्रोग्राम अत्यन्तै रोचक, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न भयो। उक्त कार्यक्रमलाई रामकृष्ण श्रेष्ठ तथा संस्थाकी उपाध्यक्ष रजनी खड्गीले प्रत्यक्ष प्रसारण (Live) गरी देश तथा विदेशमा रहेका सदस्यहरूमाझ पुर्याउनुभएको थियो। उहाँहरूको यो सक्रिय योगदानले कार्यक्रममा थप रौनक र उत्साह थपेको थियो।
सहकारी क्षेत्रमा देशव्यापी रूपमा अविश्वास र संकटको कालो बादल मडारिरहेका बेला, काभ्रेको पनौतीमा अवस्थित श्री पाञ्चाल बहुउद्देश्यीय सहकारी संस्था लि. ले भने एउटा यस्तो कीर्तिमानी सफलता हासिल गरेको छ, जसले समग्र सहकारी आन्दोलनलाई नै नयाँ दिशा निर्देश गरेको छ। संस्थाको हालै सार्वजनिक दोस्रो वार्षिक साधारण सभाको प्रतिवेदन र स्वतन्त्र लेखापरीक्षक (अडिट रिपोर्ट) को निष्कर्षले संस्थाको वित्तीय स्वास्थ्य ‘अति नै सबल’ रहेको र यो सबै संस्थाका दूरदर्शी अध्यक्ष रोशन कुमार श्रेष्ठ को जादुमयी र कुशल नेतृत्वका कारण सम्भव भएको प्रमाणित गरेको छ।
अडिट रिपोर्टले संस्थाको कारोबारलाई ‘सन्तोषजनक’ मात्र भनेको छैन, बरु विभिन्न कडा वित्तीय सूचकहरूमा संस्थाले छोटो समयमै मारेको छलाङ्गलाई अचम्मको रूपमा प्रस्तुत गरेको छ। जहाँ ठूला भनिने सहकारीहरू धराशयी भइरहेका छन्, त्यहाँ पाञ्चाल सहकारीले सदस्यहरूको विश्वास जितेर वित्तीय अनुशासनको एउटा उत्कृष्ट नमूना पेश गरेको छ।
रोशन कुमार श्रेष्ठ संकटमा ‘बलेको आगो ताप्ने’ होइन, ‘निभेको आगो बाल्ने’ साहसी नेता हुन्।
यो सनसनीपूर्ण सफलताको पछाडि मुख्य हात संस्थाका अध्यक्ष रोशन कुमार श्रेष्ठको रहेको रिपोर्टको सूक्ष्म अध्ययनले देखाउँछ। अध्यक्ष श्रेष्ठको मन्तव्य आफैमा एउटा ठूलो ऊर्जाको स्रोत हो। सहकारी क्षेत्रमा चरम अविश्वास रहेको चुनौतीपूर्ण समयमा संस्था स्थापना गर्नु आफैमा एउटा जोखिम थियो।
अध्यक्ष श्रेष्ठले रिपोर्टमा उल्लेख गरे अनुसार, संस्था दर्ता भई सञ्चालनमा आएपछि धेरैले प्रश्न गरेका थिए, “यस्तो परिस्थितिमा संस्था सञ्चालन गर्न सहज होला र?”
तर, अध्यक्ष श्रेष्ठसँग यसको एउटै र कडा जवाफ थियो, “सबैले बलेको आगो तापछन्, तर म निभेको आगो ताप्ने (बाल्ने) प्रयासमा छु।”
उनको यही अदम्य साहस, सकारात्मक सोच, सुशासनप्रतिको प्रतिबद्धता र ‘मन र नियत सफा’ हुनुपर्छ भन्ने अडानले नै आज पाञ्चाल सहकारीलाई यो उचाईमा पुर्याएको हो। उनले रिपोर्टमा गर्वका साथ भनेका छन्, “हाम्रो विश्वास सधैं के रह्यो भने, संस्थालाई सुशासन, इमानदारिता र पारदर्शिताका साथ समुदायमा आधारित भएर सञ्चालन गर्ने हो भने चुनौतीहरू अवश्य आउन सक्छन्, तर ती चुनौतीहरूलाई सामना गर्न सकिन्छ।”अडिट रिपोर्टको महा-खुलासा: पाञ्चाल सहकारीको वित्तीय साम्राज्य कति बलियो?स्वतन्त्र लेखापरीक्षक सि.ए. सुनील श्रेष्ठ (श्रेष्ठ सुनील एण्ड एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्) को प्रतिवेदनले पाञ्चाल सहकारीको वित्तीय अवस्था ‘रगतको शुद्धता’ जस्तै सफा र सबल रहेको औंल्याएको छ। अडिट रिपोर्टले संस्थाको आर्थिक स्वास्थ्यको बारेमा दिएको ‘अति नै असल’ संकेतहरू यस्ता छन्:
१. कारोबार सन्तोषजनक (कारोबारमा ऐतिहासिक बृद्धि):
रिपोर्टको पृष्ठ १०, बुँदा ४ मा स्पष्ट लेखिएको छ, “हामीले लेखापरीक्षण गरेका श्रेस्ताहरूको आधारमा संस्थाको कारोबार सन्तोषजनक रहेको पाइयो।” यो एउटा वाक्य नै संस्थाको सबलताको सबैभन्दा ठूलो प्रमाण हो। संकटको बेला कारोबार सन्तोषजनक हुनु भनेको सदस्यहरूको संस्थाप्रति अगाध विश्वास हुनु हो।
२. सेयर पुँजीमा अप्रत्याशित छलाङ्ग:वित्तीय विवरण अनुसार, गत वर्ष संस्थाको सेयर पुँजी मात्र रु. १२,९३,९००/- (बाह्र लाख त्रियानब्बे हजार नौ सय) थियो। तर, यस आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा यो बृद्धि भई रु. ३५,४३,१००/- (पैंतीस लाख त्रिचालिस हजार एक सय) पुगेको छ। यो भनेको सेयर पुँजीमा करिब १७३% को भयानक बृद्धि हो!
३. बचत संकलनमा कीर्तिमानी उछाल:सदस्यहरूको विश्वासको सबैभन्दा ठूलो मापन बचत संकलन हो। गत वर्ष संस्थाको जम्मा बचत मात्र रु. ७७,०१,५४७/- (सतहत्तर लाख एक हजार पाँच सय सैंतालीस) थियो। तर, अध्यक्ष श्रेष्ठको नेतृत्वमा संस्थाले यस्तो विश्वास जित्यो कि, यस वर्ष बचत संकलन बृद्धि भई रु. ६,८६,३१,३७७/- (छ करोड छयासी लाख एकत्तिस हजार तीन सय सतहत्तर) पुगेको छ। यो बचतमा करिब ८ गुणा (७९०%) को सनसनीपूर्ण बृद्धि हो!
४. आम्दानीमा पनि भारी बृद्धि:आर्थिक वर्ष २०८२/८३ मा संस्थाको आम्दानी बृद्धि भई रु. ५१,५४,६३१/- (एकाउन्न लाख चौवन्न हजार छ सय एकत्तिस) पुगेको छ, जबकि गत वर्ष यो मात्र रु. १७,४९,७०७/- थियो।
५. ऋणीहरूबाट ब्याज उठ्ती र वित्तीय अनुशासन:सहकारी ऐनको दफा ७४ बमोजिम श्रेस्ता राखिएको र कर्जा नोक्सानी व्यवस्थामा पनि ध्यान दिइएको रिपोर्टले देखाउँछ। संस्थाले आफ्ना सदस्यहरूको बचतलाई सुरक्षित र उत्पादनशील क्षेत्रमा परिचालन गर्न विशेष ध्यान दिएको कोषाध्यक्ष जयराम मानन्धरको प्रतिवेदनले पनि पुष्टि गर्छ।
६. सदस्य संख्यामा उल्लेख्य बृद्धि:संस्थाको स्थापना १५० जना सदस्यबाट सुरु भएकोमा, अहिले सदस्य संख्या ७१६ पुगेको छ । यसमा ४१८ जना महिला सदस्य हुनुले संस्थाको समावेशिता र समुदायप्रतिको पकड देखाउँछ।
७. कानुनी अनुपालन:अडिट रिपोर्टको अनुसार, संस्थाले लेखा परीक्षणको क्रममा आवश्यक सबै सूचना उपलब्ध गराएको, हिसाब किताब रितपूर्वक राखेको र सम्पत्ति शुद्धीकरण निवारण ऐन, नियमावली र निर्देशिका बमोजिम सदस्य पहिचान र वर्गीकरणका व्यवस्थाहरू थप प्रभावकारी रूपमा कार्यान्वयन गरेको पाइएको छ। लेखापरीक्षकले “सञ्चालक समिति, कुनै सदस्य वा संस्थाका कुनै कर्मचारीले कानुनी व्यवस्था विरुद्ध कामकाज वा हानी नोक्सानी गरेको नपाइएको” स्पष्ट पारेको छ, जसले संस्थाको स्वच्छ छवि प्रमाणित गर्छ।
पनौतीको ऐतिहासिक पहिचानसँगै “सदस्यको सारथी”
पाञ्चाल सहकारी केवल वित्तीय कारोबार मात्र गर्ने संस्था होइन। यसको नाम पनौतीको ऐतिहासिक नाम ‘पाञ्चाल’, ‘पाञ्चाल देश’ सँग जोडिएको छ ।संस्थाले पनौतीको ऐतिहासिक पहिचान र स्थानीय इतिहासप्रति सम्मान व्यक्त गर्दै आफ्नो नाम र उद्देश्यलाई त्यससँग जोडेको छ। संस्थाको मूल नारा नै “सदस्यको सारथी, पाञ्चाल सहकारी” रहेको छ, जसलाई यसले व्यवहारमा उतारेको छ।संस्थाले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने प्रयास स्वरूप ६ जना युवायुवतीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ। अध्यक्ष श्रेष्ठको भिजन “स्वदेशमै रोजगारी, स्वदेशमै सम्भावना” भन्ने भावनालाई व्यवहारमा उतार्ने रहेको छ । सचिव उर्मिला श्रेष्ठको प्रतिवेदनले पनि संस्थाले प्रतिकूल आर्थिक परिस्थितिका बाबजुद पनि निरन्तर वित्तीय रूपमा सक्षम र सबल ढंगले सञ्चालन हुँदै आएको पुष्टि गर्दछ।
काभ्रेको पाञ्चाल बहुउद्देश्यीय सहकारी संस्थाको अडिट रिपोर्ट र वार्षिक प्रतिवेदनले एउटा कुरा स्पष्ट पारेको छ।यदि नेतृत्व इमानदार छ, नियत सफा छ र सुशासनप्रति प्रतिबद्धता छ भने, जस्तोसुकै संकटमा पनि सफलता हासिल गर्न सकिन्छ। अध्यक्ष रोशन कुमार श्रेष्ठ को साहसी नेतृत्व, अन्य पदाधिकारीहरूको साथ र सदस्यहरूको अटुट विश्वासले आज पाञ्चाल सहकारीलाई वित्तीय सबलताको शिखरमा पुर्याएको छ। यो संस्था पनौतीका बासिन्दाहरूको लागि मात्र होइन, समग्र देशका सहकारीकर्मीहरूको लागि एउटा प्रेरणाको स्रोत बनेको छ।
