आइतबार, असोज २५, २०८३

पनौती त्रिवेणीघाटमा भक्तजनहरूको पवित्र स्नान: माधव नारायण व्रतको धार्मिक अनुष्ठान सम्पन्न

Tapai Hamro Weekly   बुधबार, माघ २३, २०८१
पनौती त्रिवेणीघाटमा भक्तजनहरूको पवित्र स्नान: माधव नारायण व्रतको धार्मिक अनुष्ठान सम्पन्न

पनौती त्रिवेणीघाटमा भक्तजनहरूको पवित्र स्नान: माधव नारायण व्रतको धार्मिक अनुष्ठान सम्पन्न काभ्रे /पनौती एक धार्मिक,सास्कृतिक र ऐतिहासिक महत्त्व बोकेको सहर हो।पनौतीमा वर्षभरिमा विविध प्रकारका चाडपर्वहरू मनाउने परम्परागत चलन रहिआएको छ ।माघ २० गते आइतबार पनि माघको जाडोमा एकाबिहानै भक्तपुर र सांखुबाट आउनु भएका माधव नारायण भक्तजनहरुको भिड जम्मा भएको थियो।पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्री  स्वस्थानी देवीको कठोर व्रत बसी विभिन्न तीर्थस्थलहरुको परिक्रमा  गर्ने क्रममा पनौतीमा पनि व्रतालुहरू आउने चलन रहेको छ।विशेष गरी भक्तपुरको हनुमान घाट, त्रिवेणी घाटलगायतका स्थानमा मनाइने पर्व हो, जसमा बालकदेखि वृद्धसम्मले कठोर व्रत बस्ने परम्परा छ।माधव नारायण व्रत प्राचीन धार्मिक पर्व हो, जुन नेपालभरि आठौं शताब्दीदेखि मनाइँदै आएको बताइन्छ। यो व्रत विशेष गरी भगवान विष्णुको माधव रूपको आराधना गर्ने पर्व हो, जसमा भक्तजनहरूले करिब एक महिना लामो कठोर तपस्या, ब्रत, र गंगास्नान गर्छन्। यो व्रत अत्यन्तै कठिन तपस्यासहित मनाइने धार्मिक अनुष्ठान हो, जसमा भक्तजनहरूले विभिन्न तीर्थस्थलहरूको यात्रा गर्छन्। व्रतालुहरू खाली खुट्टा हिँड्दै माधवनारायण मन्दिरबाट सुरू गरी काभ्रे जिल्लाको पनौती पुगेर त्रिवेणीमा स्नान गर्छन्। त्यसपछि इन्द्रेश्वर महादेवको दर्शन गरी, पशुपतिनाथ गएर स्नान र पूजा गर्छन्। त्यसैगरी, दैबागेश्वरी र ताम्रेश्वर महादेवसम्म कलस यात्रा गरिन्छ। द्वादशीका दिन व्रतालुहरू चाँगुनारायण पुग्छन्, जहाँ संखदहमा स्नान गरेर कलस लिन्छन् र चाँगुनारायणको दर्शन गर्छन्। अन्ततः माघ शुक्ल पूर्णिमाका दिन त्रिवेणीघाटमा स्नान गरी माधवनारायणको पूजा गरी यो व्रत समापन गरिन्छ। माधव नारायण भक्तपुर र सांखु  हुँदै पनौतीका लागि बिहानै श्रीपञ्चमी अधिको तृतीयाको दिन हिंड्‌ने गर्दछन्। यसरी बिहानै हिंडेका व्रतालुहरू पनौतीमा साँझसम्म आइपुग्ने गर्दछन्। यहाँ आइपुग्दा व्रतालुहरूका लागि बस्ने बासको व्यवस्था स्थानीयस्तरबाट हुँदै आएको छ। त्यस्तै भक्तपुरबाट सप्तमीका दिन पनौतीमा  माधवनारायणको आगमन हुन्छ। यसरी आएका माधव नारायण टोली त्रिवेणी सत्तल, पुण्य मा.वि. मा वास वस्ने  गर्दछन्। भक्तपुरबाट आएका माधव  नारायणको टोलीले नगरवासिलाई जानकारी दिने हेतुले  आए‌कै दिनको साँझमा शंख बजाउँदै नगर परिक्रमा गर्ने परम्परा छ।भोलिपल्ट बिहान सबेरै उठेर व्रतालुहरू त्रिवेणीमा स्नान गर्दछन् । यसरी स्नान गर्दा आफ्नो आधा शरीर पानीमा डुवाएर लामो समयसम्म बस्ने गर्दछन्। सोही समयमा माधव नारायणको मूर्तिलाई पनि स्नान गराइन्छ । यी स्नान गर्दाको दृश्य हेर्ने मानिसहरूको ठूलो भीड लाग्ने गर्दछ।यो परम्परा निकै पुरानो भएको स्थानीयको भनाइ छ। माघ महिनाको कठ्‌या‌ङ्ग्रिने जाडोमा यसरी स्नान गरिसकेपछि आगो ताप्नका लागि स्थानीय बासिन्दाले पराल, छ्वाली, दाउरा लगिदिने गर्दछन्। नुहाएर चोखो भएपछि श्री स्वस्थानी माताको कथा श्रवण गर्ने काम हुन्छ। यस दिन माधव नारायणको पूजा गर्न स्थानीय सर्वसाधारणको घुइँचो लाग्दछ। माधव नारायणको दर्शन गर्न र व्रत बसेकाहरूलाई फलफूल, गेडागुडी, पैसा चढाउनेहरूको पनि भीड लागेको थियो।स्थानियले आफ्नो क्षमताले भ्यायको भेटि र फलफुल दान गरेका थिए।माधब नारायणको दर्शन गर्नाले समेत पुन्य प्राप्त हुने भनाइ चलीआएको छ। यो पर्व  श्रदालु भक्तजनहरुको आस्थासंग जोडिएको भएर नै पुस माघको  मुटु कमाउने जाडोमा सामान्य धोतीमा एक महिनासम्म व्रत बस्न सक्नु भनेको यो कुनै सामान्य कुरा भने पक्कै  होइन। विशेष गरेर पुरुष व्रतालुहरुका लागि एक महिने यो व्रत निकै कठिन छ।ब्रतालुहरु कम्मरसम्म धोती बधेर यस्तो जाडोमा पल्टी मार्दै , घिर्सिदै भगवान्‌को नाम जप्दै अगाडि बढ्छन्। स्वस्थानी व्रत विशेषगरी महिलाहरुले लिने गरे पनि स्वस्थानीसँगै जोडिएर आउने माधव नारायणको व्रत केटाहरुले लिने गर्दछन् । हिमालय पुत्री पार्वतीले गुरु माधवनारायण भगवानलाई साक्षी राखेर स्वस्थानी (अष्टमातृका, त्रिदेवी, लक्ष्मी, सरस्वती, गायत्री, शक्ति) माताको व्रत बसेर महादेव पती पाएको धार्मिक किम्बदन्ती छ । यसमा खासगरी केटा मानिसहरु पनि व्रत बस्ने र पूजा गर्ने गर्दछन् । भक्तपुरको हनुमानघाट र साँखुको शालीनदीस्थित माधव नारायणको मन्दिरमा कठोरपूजामा आज विशेषतः केटा मानिसहरु ब्रत बस्ने र पल्टिमार्दै करीब दुई किलोमिटरसम्मको धार्मिक यात्रा पूरा गर्नुपर्ने कठोर क्रियाकलाप हुनेगर्दछ ।पूजापछि १ सय ८ रोटी, १ सय ८ पान, १ सय ८ सुपारी आफ्नो श्रीमानलाई, श्रीमान नहुनेले छोरोलाई, छोरो नहुनेले मित छोरोलाई वा त्यो पनि नहुनेले मनोकांक्षा पूरा होस् भन्दै नजिकको जलाशयमा सेलाइदिने गरिन्छ । यसो गरेमा विवाहिता महिलाको पतिको दीर्घायू हुने र अविवाहिता नारीले मनले चिताएको सुयोग्य वर पाउने धार्मिक विश्वास छ।विश्वास र आस्थाले नै पनौती नेपालमा मात्रै होइन अन्य देशहरुमा समेत प्रसिद्ध छ।   पनौतीका स्थानीयका भनाइ अनुसार हिमालय पुत्री पार्वतीले श्री स्वस्थानी माताको कठिन व्रत बसेर महादेव पति पाएको धार्मिक किवंदन्ती छ । सोहीअनुसार पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म घरमा स्वस्थानी व्रतकथा बाचन गर्ने, सुन्ने तथा व्रतालुहरुले शिवलिंग र स्वस्थानी माताको पूजा गर्ने चलन रहीआएको छ।त्यसैले हिन्दू धर्मावलम्बीहरुले पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म पबित्र मनले देउ तिर्थ गरि भगवानको आराधना गर्ने गरेका छन्।

विज्ञापन तपाईं हाम्रो यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: info@tapaihamro.com.np सम्पर्क गर्नुहोस्