इतिहास रच्दै गोल्डेन सिद्धार्थ! २०८१ को नतिजासँगै ऐतिहासिक घोषणा — १ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा, रिजल्टका टप थ्रीलाई महिनौंको मासिक छुट! शिक्षा मात्र होइन, सुरक्षा र सम्मान पनि!

काभ्रे-
धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरस्थित गोल्डेन शिद्धार्थ एकेडेमीले शैक्षिक सत्र २०८१ को नतिजा प्रकाशन तथा UKG तहका विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। गत २९ गते शुक्रबार सम्पन्न उक्त कार्यक्रममा विद्यालयले गुणस्तरीय शिक्षाको नयाँ दृष्टिकोण प्रस्तुत गर्नुका साथै काभ्रेको शैक्षिक इतिहासमै महत्वपूर्ण घोषणा गर्दै अभिभावकहरूमाझ गहिरो छाप छोडेको छ।
सञ्चालक समिति अध्यक्ष भुवन केसीको अध्यक्षतामा सम्पन्न समारोहमा प्रेस चौतारी नेपालका केन्द्रीय लेखा समिति सदस्य एवं ‘तपाईं हाम्रो साप्ताहिक’का प्रकाशक बुद्ध कुमार श्रेष्ठ (रोहित) विशेष अतिथि रहनु भएको थियो। कार्यक्रमका अन्य विशिष्ट अतिथिहरूमा विद्यालयका प्रधानाध्यापक भरत बहादुर केसी तथा शिक्षा अभियन्ता एवं सञ्चालक रवि किरण कर्मचार्य रहनुभएको थियो। समारोहमा स्थानीय अभिभावकहरू, शिक्षक-शिक्षिकाहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवातमा प्रधानाध्यापक भरत बहादुर केसीले स्वागत मन्तव्य राख्दै विद्यालयको प्रतिबद्धता र आगामी योजनाबारे अभिभावकहरूलाई जानकारी दिनुभयो। त्यसपछिको विशेष मन्तव्यमा अतिथि बुद्ध कुमार श्रेष्ठले आधुनिक युगमा विद्यालयको मूल्याङ्कन केवल भौतिक पूर्वाधारको आधारमा गर्नु अनुपयुक्त भएको विचार व्यक्त गर्दै भन्नुभयो— “विद्यालय भनेको ज्ञानमन्दिर हो, जहाँ भगवानझैँ शिक्षक-शिक्षिकाहरूले विद्यार्थीको भविष्य निर्माण गर्ने जिम्मेवारी लिएका हुन्छन्। गुणस्तरीय शिक्षाको मापन विद्यार्थीमा हुने सकारात्मक रूपान्तरणबाट गर्नुपर्छ।”
श्रेष्ठले निजी विद्यालयहरूले सरकारी विद्यालयको तुलनामा कम स्रोतसाधनमै विद्यार्थीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै, गोल्डेन शिद्धार्थ एकेडेमी जस्ता शिक्षालयहरू जिल्लाकै लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रमको अर्को आकर्षक पक्ष बनेको थियो सञ्चालक समिति अध्यक्ष भुवन केसीद्वारा गरिएको ऐतिहासिक घोषणा। उहाँले शैक्षिक सत्र २०८१ मा प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई ६ महिनाको शिक्षा शुल्क छुट, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेहरूलाई ३ महिनाको छुट दिने घोषणा गर्नुका साथै सम्पूर्ण विद्यार्थीलाई निःशुल्क एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने निर्णय सार्वजनिक गर्नुभयो। यस्तो प्रकारको अग्रगामी निर्णयले काभ्रेको निजी शिक्षाक्षेत्रमै नयाँ मापदण्डको सुरुवात गरेको अभिभावकहरूले बताएका छन्।
उक्त समारोहमा UKG कक्षाका ४४ जना नानीबाबुहरूलाई दीक्षित गरेका थिए, विद्यालय जीवनको प्रारम्भिक चरण सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा शुभकामना दिइएको थियो। कार्यक्रममा अभिभावकहरूको उत्साहजनक सहभागिता र बालबालिकाको अनुशासित प्रस्तुतिले विद्यालयको शिक्षण पद्धति र व्यवस्थापनप्रति गहिरो विश्वास अभिव्यक्त गराएको देखिन्थ्यो।गोल्डेन शिद्धार्थ एकेडेमीले यस समारोहमार्फत नतिजा मात्र होइन, शिक्षा र सेवाको नयाँ परिभाषा प्रस्तुत गर्दै सम्पूर्ण धुलिखेलवासीहरूमा शिक्षाप्रतिको सोचलाई थप परिष्कृत बनाएको देखिन्छ।
