आइतबार, असोज २५, २०८३

प्रकाशकिय- निष्पक्षताको यात्रामा एघार वर्ष: संघर्ष, सत्य र प्रतिबद्धता

Tapai Hamro Weekly   बुधबार, माघ २३, २०८१
प्रकाशकिय-   निष्पक्षताको यात्रामा एघार वर्ष: संघर्ष, सत्य र प्रतिबद्धता

एघार वर्ष! यो केवल एउटा संख्यात्मक उपलब्धि मात्र होइन, निरन्तर परिश्रम, अटुट संकल्प र साहसको प्रतिफल हो।
पत्रकारिता केवल समाचार लेख्ने माध्यम मात्र होइन; यो समाजको ऐना हो, न्यायको आवाज हो, र सत्यको पहरेदार हो।
पछिल्ला दश वर्ष हाम्रो लागि मात्र होइन, सम्पूर्ण स्वतन्त्र पत्रकारिताका लागि चुनौतीपूर्ण रहे। बिगतमा प्रकाशनका क्रममा हामीले अनेकौं अवरोधहरूको सामना गर्यौं। आर्थिक संकटले हाम्रो पाइला रोक्न खोज्यो, निष्पक्ष पत्रकारिताप्रति रोष व्यक्त गर्दै कतिपयले चरित्र हत्या गर्नेसम्मको प्रयास गरे। तथापि, सत्यको खोजीमा हामीले कहिल्यै आफ्नो धर्मबाट विचलित भएनौं। पाठक वर्गको विश्वास र समर्थनले हामीलाई निरन्तर अघि बढ्ने ऊर्जा दियो।

निष्पक्ष समाचारको खोजी गर्दा हामीले अनेकौं अवरोध सामना गर्यौं। सत्य बाहिर ल्याउने हाम्रा प्रयत्नहरूलाई दबाउन अनेक आरोप-प्रत्यारोप लगाइए, कानुनी तवरबाट पनि धम्क्याउने प्रयास गरियो, तर हामी विचलित भएनौं। पत्रकारितालाई शक्तिशाली वर्गको भजनमण्डली बनाउनेहरूका अगाडि हामी झुकेनौं।हाम्रो पत्रिका यस अवधिमा अनेकौं चुनौतीहरूका बावजुद अघि बढ्न सफल भएको छ।आज, जब हाम्रो पत्रिका एघारौं वर्षमा प्रवेश गर्दैछ, हामी गर्वका साथ भन्छौं—निष्पक्षता र सत्यको मार्गमा हिंड्ने हाम्रो अठोट कहिल्यै कमजोर भएन।त्यसैले हाम्रो पत्रीका प्रेस काउन्सिल नेपालको मुल्यांकनमा बर्ग क श्रेणीमा पर्न सफल भएको छ।

लोकतन्त्रको आधारभूत स्तम्भको रूपमा स्वतन्त्र पत्रकारिताको रक्षा गर्नु हाम्रो कर्तव्य हो। हामीलाई दबाउन खोज्ने शक्तिहरूलाई यो स्पष्ट गर्न चाहन्छौं—सत्यको पक्षमा हामी सधैं उभिइरहनेछौं। आमनागरिकका सवाल उठाउने, राज्यका कमजोरीहरू उजागर गर्ने र समाजमा जिम्मेवार पत्रकारिताको उदाहरण प्रस्तुत गर्ने हाम्रो प्रतिबद्धता अझ बलियो बनेको छ।
आज, हामी एघारौं वर्षमा प्रवेश गरिरहदा हामीलाई साथ दिनुहुने पाठक, लेखक, विज्ञापनदाता सत्यप्रेमी समुदाय र शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं। आगामी दिनहरूमा पनि, हामी निष्पक्षताको यो मिसनलाई निरन्तर अघि बढाउने छौं। सत्यको उज्यालो कहिल्यै मर्न दिइने छैन।

हामी सत्यको आवाज उठाइरहनेछौं, समाजलाई सूचित गर्ने हाम्रो धर्मबाट कहिल्यै पछि हट्ने छैनौं। एघारौं वार्षिकोत्सवको यस अवसरमा, हामी यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं कि पत्रिका सधैं सत्य, निष्पक्षता र जनताको आवाजको पक्षमा रहिरहनेछ।
न्याय, निष्पक्षता र निर्भीक पत्रकारिताको प्रतिबद्धता—हाम्रो मार्गदर्शन, हाम्रो अभियान!हाम्रो यात्रामा विश्वास गरी साथ दिनुहुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद!

विज्ञापन तपाईं हाम्रो यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: info@tapaihamro.com.np सम्पर्क गर्नुहोस्